जाने हैन त तारेभीर ?


यातायाताको साधन प्रयोग गरेर पोखराको छोरेपाटनबाट ३५/४० मिनेट कच्ची सडक उक्लिएपछी पुग्न सकिन्छ तारेभीर । त्यसो त त्यहाँ पुग्न झन्डै आधा दर्जनको संख्यामा अन्य सहायक बाटोहरु पनि छन् । कच्ची सडक भएपनि ढुंगा बिछ्याइएको हुँदा अन्यन्त्र जस्तो वास्तविक कच्ची बाटोको सास्ती खेप्नु पर्दैन ।

पोखरा उपत्यकाको सुन्दर दृश्यावलोकन गर्दै सानो पहाड चढ्दा उकालो कटेको पत्तै हुँदैन ।

शान्ति स्तुपाबाट दक्षिण हुँदै १५/२० मिनेट उकालो निस्केपछि पुम्दिकोट पुगिन्छ । तारेभिरकै छेउमा पर्छ पुम्दिकोट । पुम्दिकोटको टावरमा चढेर पनि पोखराको मनमोहक दृश्यपान गर्न सकिन्छ । उत्तर तर्फ सेतै हिमाली लहर, दैलैमा बिछ्याइएको निलो फेवाताल, आँखा अगाडी पोखरा शहर अनि दक्षिण तर्फ मट्टिखानको डांडा । एकै नजरमा आँखाले समेट्न सक्ने अलौकिक दृश्यहरु हुन ।

तारेभीर आसपासमा अन्य गाउँहरुपनि छन् । जापानिज डांडो भनेर चिनिने कालावाङ नजिकै होमस्टेको पनि ब्यबस्था छ । तलबाट हेर्दा निकै भिरालो लागेपनि माथि पुगेपछी भने बसेको समथर भूभाग छ । गुरुङ र ब्राह्मण जातीको बिशेष बाहुल्यता रहेको पर्यटकीय प्रचुर सम्भावना रहेको त्यस स्थानमा अहिले केही होटल निर्माणधिन छन् । स्थानीयका अनुसार अहिले तारेभिरका अधिकांश जग्गा (डाँडो) काठमाण्डौका ब्यबसायीले खरीद गरिसकेका छन् ।

पोखराबाट केही घन्टाको समय छुट्टयाइएर पर्याप्त आनन्द लिन सकिने नजिकको गन्तब्य हो तारेभिर । त्यसबाहेक पदयात्रा मार्फत एकदिनको यात्राका लागि जान चाहने मानिस फेवातालको शिरमा रहेको चंखपुरको पुल तरेर बेसीको बाटो बेत्यानी हुँदै कालावाङको होमस्टेमा पुगेर न्यानो आथित्यता सहितको आनन्द लिन सक्छन् । प्राय चिसो हावापानी रहने यस स्थानमा बिशेष गरी शुक्रबार पोखराबाट क्याम्प फायर गर्न आउनेको संख्या उल्लेख्य हुने गर्छ ।